काठमाडौं - एभरेष्ट बैंकले “ई–पैँचो फोन लोन” सुविधा सुरु गरेको छ ।
बैंकले योग्य मानेका ग्राहकहरुले मोबाइल एप “इबीएल टच २४”मार्फत बिनाधितो २ लाखसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । ई–पैँचो फोन लोन विभिन्न समयको किस्ताबन्दीमा भुक्तानी गर्न सकिन्छ । यसमा एक महिनाभित्र वा ३, ६, ९ अथवा १२ महिनाका लागि किस्ताबन्दीमा चुक्ता गर्न सकिने सुविधा समावेश छ ।
यसमा ग्राहकहरुको योग्यता मापनमा विभिन्न प्यारामिटरहरुको प्रयोग गरिएको छ । बैंकबाट गरिएका कारोबार, बैंकमा तलब खाता खोलेको छ या छैन, बक्यौता ऋण लिएको छ या छैन लगायतका अन्य प्यारामिटरको प्रयोग गरिएको छ । यसका साथै यसमा आफुले लिएको कर्जा चाँडै तिर्न चाहने ग्राहकको लागि ऋणको बक्यौतासहित पूर्व भुक्तानीको विकल्प पनि उपलब्ध छ ।
ई–पैंचो फोन लोनका लागि योग्य ग्राहकले कुनै पनि फोनपे मर्चेन्टमा क्यूआर भुक्तानी गर्दा ‘बाई नाउ पे लेटर’ सुविधा प्रयोग गर्न सक्नेछन् । यी सेवाहरु लिनका लागि ग्राहकले प्रमाणित इमेल ठेगानाको साथै ई–पैँचो फोनलोनमा दर्ता गर्नुपर्नेछ ।
ई–पैँचो फोनलोनका लागि विभिन्न मापदण्डका आधारमा योग्यता निर्धारण गरी स्वचालित रुपमा कर्जा पाइन्छ । जस्तै– तलब खाता, नियमित कारोबार बैंकसँग कुनै बक्यौता वा ऋण नभएकोजस्ता मापदण्ड रहेका छन् ।
योग्य मानिएका ग्राहकहरुको मोबाइल एपमा ई–पैँचो लोन फोन आइकन आउनेछ र त्यहाँ दिइएको रजिस्टर बटनमा क्लिक गरी रजिष्टर गरेपछि ई–मेल प्रमाणिकरण गर्नुपर्ने हुन्छ । ई–मेल प्रमाणीकरण भएसँगै ग्राहकले रियल टाइममै बिनाधितो कर्जा लिन सक्नेछन् ।
ई–पैँचो फोनलोनका विषयमा बैंकका रिटेल एन्ड एसएमई क्रेडिट प्रमुख विष्णु ज्ञवालीले भने, ‘‘नेपालमा कर्जा पाउनु निकै कठिन छ । कर्जाको सरल पहुँच बढाउन हामीले योग्य ग्राहकलाई ई–पैँचो फोनलोनमार्फत कर्जा उपलब्ध गराउन लागेका छौँ । ई–पैँचो फोनलोन सेवामार्फत कर्जा लिन र भुक्तानी गर्न ग्राहकहरुले कुनै चिन्ता लिनुपर्ने छैन । ग्राहकले मात्रै खाता सन्तुलनमा राखी कारोबार गर्नुपर्नेछ । बाँकी सबै काम हामीले गर्ने छौँ ।’
सन् १९९४ बाट सञ्चालनमा आएको एभरेष्ट बैंक, नेपाल राष्ट्र बैंकले ‘क’ वर्गमा वर्गीकरण गरेको बैंक हो । देशभर ३९ हजार १६७ डेलिभरी च्यानल, १० हजार ९८ आन्तरिक शाखा भएको एभरेष्ट बैंकसँग १५ हजार ७१९ व्यापारिक घराना आबद्ध रहेका छन् । यसका साथै बैंकका २ अन्तर्राष्ट्रिय शाखा र देशभर १३ हजार ३५० एटीएम बुथ रहेका छन् ।
ई–बीएल टच २४ एप डाउनलोड गर्नका लागि आईओएस प्रयोगकर्ताहरुले एप स्टोरबाट र एन्ड्रोइड प्रयोगकर्ताले प्लेस्टोरबाट डाउनलोड गर्न सक्नेछन् ।
प्रतिक्रिया