तथ्याङ्क प्रयोग सम्बन्धी कार्यविधि सेबोनद्धारा स्वीकृत

३ बर्ष अगाडि

काठमाडौं - लामो समय पछि नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्जको तथ्याङ्क प्रयोग सम्बन्धी कार्यविधि स्वीकृत गरेको छ । कार्यविधि स्वीकृत भए सँगै नेपाल स्टक एक्सचेन्जलाई आफ्नो तथ्याङ्क बिक्री गर्न बाटो खुलेको छ ।

यस अघि कार्यविधि स्वीकृत नभएकै कारण नेपाल स्टक एक्सचेन्जले आफ्नो डाटा बिक्री गर्न पाएको थिएन । उक्त कार्यविधि स्वीकृत भए सँगै नेप्सेले आफ्नो कुनै पनि डाटा शुल्क लिएर जो कोहीलाई बिक्री गर्न सक्ने छ ।

हुन त नेपाल धितोपत्र बोर्डले उक्त कार्यविधि दुई वर्ष अघि नै स्वीकृत गरेको थियो । स्वीकृत कार्यविधिमा टेकेर विभिन्न किसिमका डाटाको छुट्टा छुट्टै शुल्क निर्धारण गरी सूचना समेत प्रकाशित गरिसकेको थियो । तर उसले आफैले उक्त शुल्क निर्धारण गरेको र शुल्कको विषयमा बोर्डसँग परामर्श नगरेको भन्दै बोर्डले उक्त शुल्क लिन बन्देज लगाएको थियो ।

बोर्डले शुल्कको विषयमा प्रश्न उठाउँदै बन्देज लगाएपछि नेप्सेले पुनः शुल्क सहितको कार्यविधि स्विकृतिकोलागि धितोपत्र बोर्ड पठाएको थियो । नेप्सेले शुल्क सहित पठाएको कार्यविधि भने बोर्ड स्वीकृत गरेको थिए । उसले स्वीकृत नगरेकै कारण नेप्सेको डाटा बिक्री गर्ने योजना थाती रहन गएको थियो । 

तर पछिल्लो समय बोर्डले उक्त कार्यविधि पास गरेको छ । पास भएको कार्यविधि नेप्से सञ्चालक समितिमा पेस हुन भने बाँकी छ। नेप्से सञ्चालक समितिले पास गरे लगत्तै नेप्सेले सूचना जारी गर्ने छ । नेप्सेले सूचना जारी गरेपछि सर्वसाधारणदेखि व्यापारिक प्रयोजनकोलागि नेप्सेको डाटा प्रयोग गर्न मिल्ने छ ।

नेप्सेले डाटा प्रयोजनकोलागि छुट्टा छुट्टै शुल्क निर्धारण गर्ने छ । सोही शुल्क तिरेर सर्वसाधारणदेखि व्यवसायीक प्रयोजनको लागि डाटा प्रयोग गर्न मिल्ने छ । नेप्सेले सूचना जारी गरिसकेपछि भने कोही कसैले पनि नेप्सेको डाटा अनधिकृत रुपमा प्रयोग गर्न पाउने छैन । अनधिकृत रुपमा प्रयोग गरे नेप्सेले निश्चित कारबाही गर्न सक्ने छ ।   

३ बर्ष अगाडि

प्रतिक्रिया