काठमाडौं - बैंकहरुमा निक्षेप संकलन ह्वातै बढ्न थालेको छ । गत तीन सातायता बैंकहरुमा निक्षेप संकलन लगातार बढ्दो अवस्थामा देखिएको छ ।
भदौ १० गतेसम्ममा ४४ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप रहेको बैंकहरुमा भदौ ३० गतेसम्ममा निक्षेप संकलन बढेर ४४ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ ।
चालु आर्थिक वर्ष सुरु भएपछि भदौ पहिलो सातासम्ममा बैंकहरुको निक्षेप करिब डेढ खर्ब रुपैयाँले घटेको थियो । तर भदौ दोस्रो साताबाट भने बैंकहरुको निक्षेप घट्ने क्रम रोकिएको छ । भदौ १० गतेयता बैंकहरुको निक्षेप संकलन ४४ अर्ब रुपैयाँले बढेको छ।
निक्षेप संकलन बढेपनि कर्जा लगानी भने खासै बढेको छैन । समीक्षा अवधिमा बैंकहरुको कर्जा लगानी ४ अर्ब रुपैयाँले मात्रै बढेको छ । भदौ १० गतेसम्ममा ४१ खर्ब ८० अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले भदौ ३० गतेसम्ममा ४१ खर्ब ८४ अर्ब रुपैयाँ कर्जा दिएका छन् ।
पछिल्लो समय निक्षेप संकलन बढेपछि बैंकहरुमा लगानीयोग्य रकम समेत बढ्न थालेको बैंकरहरु बताउछन् । असोजदेखि निक्षेपमा ब्याज बढेकोले निक्षेपकर्ता अझै आकर्षित हुने उनीहरुको आँकलन छ ।
निक्षेप संकलन बढ्दै जाँदा बैंकहरुको सिडि रेसियो पनि घट्दै गएको छ । सिमा नजिक रहेका अधिकाँश बैंकहरुको सिडि रेसियो विस्तारै तल झर्न थालेको छ । अहिले बैंकहरुको औसत सिडि रेसियो नै ८८ प्रतिशतभन्दा तल झरेको छ । केन्द्रिय बैंकको तथ्याँक अनुसार भदौ ३० गतेसम्ममा बैंकहरुको औसत सिडि रेसियो ८७.८९ प्रतिशतमा झरेको छ ।
बैंकहरुमा निक्षेप बढेपछि राष्ट्र बैंकलाई तिर्ने सापटी पनि घटेको छ । केहि साता अघिसम्म झण्डै २ अर्ब रुपैयाँ पुगेको सापटी अहिले १ अर्ब ५२ अर्ब रुपैयाँमा झरेको छ । यसमा पनि केन्द्रिय बैंकले बिहीबार मात्रै ४० खर्ब रुपैयाँको रिपो जारी गरेर बैंकहरुलाई ४० अर्ब रुपैयाँ उपलब्ध गराएको थियो ।
प्रतिक्रिया