दुई दिन जसरी बढ्यो त्यसरी नै घट्यो नेप्से, कारोबार रकममा भने वृद्धि

३ बर्ष अगाडि

काठमाडौं, साताको पाँचौ कारोबारको दिन (बिहीबार) शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । दुई उच्च अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) जसरी बढेको थियो त्यस्तै गरि नै आज ओरालो लागेको हो । 

नेप्से परिसूचक ५७ अंकले घटेर १९२४.४८ विन्दुमा झरेको छ । आज शेयरबजार घटेपनि कारोबार रकम भने सुधार देखिएको छ । केही दिनयता करोडमा झरेको कारोबार आज २ अर्बमाथि पुगेको छ । आज नेप्सेमा ६९ लाख ४० हजार ५९६ कित्तँ शेयर कित्ता खरिदबिक्री हुदाँ २ अर्ब १२ करोड ५६ लाख ५५ हजार ७८७ रुपैंयाको कारोबार भएको छ । 

यस दिन सिटिजन्स म्युचुअल फण्ड २ को इकाईमूल्य सर्वाधिक ४.१२ प्रतिशत बढेको छ। त्यसैगरी, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ४ प्रतिशत बढेको छ। एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाई मूल्य यस दिन सर्वाधिक ८ प्रतिशत घटेको छ। कारोबारमा आएको समृद्धि फाइनान्स र श्वेत गंगा हाइड्रोपावरको शेयरमूल्य यस दिन ७ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन लक्ष्मी बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन २१ करोड ५० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन रिडी पावरको ११ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

बिहीबार वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.२४ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी घटेको छ भने होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया