एजेन्सी - ट्वीटरका सेयरहोल्डरहरुले एलन मक्सको ट्वीटर किन्ने सम्झौता स्वीकृत गरेका छन् । ट्वीटरको सन फ्रान्सीसकोमा रहेको कार्यालयमा लगानीकर्ताहरुले गरेको कन्फेरेन्स कलबाट सम्झौता स्वीकृत गरेका हुन् ।
सम्झौता स्वीकृत गरेता पनि एलन मक्सले ट्वीटर नकिन्ने अडान लिएका छन् भने ट्वीटरले सम्झौताबाट पछि हट्न नमिले भन्दै मुद्दा दर्ता गरेको छ । सन् २०२२को अप्रिल महिनामा ट्वीटरले एलन मक्सलाई ४४ बिलियन डलरमा ट्वीटर बेच्ने निर्णय गरेको थियो ।
ट्वीटरले स्प्याम अकाउन्ट र बोट अकाउन्टको बारेमा जानकारी दिन नमानेपछि मक्सले उक्त सम्झौता रद्द गरेका थिए । सामाजिक सञ्जाल ट्वीटरले ५ प्रतिशत सक्रिय प्रयोगकर्ताहरु बोट प्रयोगकर्ता रहेको जनाउँदै आएको छ ।
मक्सले बोट अकाउन्ट ५ प्रतिशत भन्दा धेरै रहेको र त्यस बारेमा आफूलाई पूर्ण रुपमा जानकारी नदिएको आरोप ट्वीटरलाई लगाएका छन् । सम्झौता रद्द गरेपछि मक्स विरुद्ध ट्वीटरले मुद्दा दायर गरेको थियो ।
लगानीकर्ताहरुले एलन मक्ससँगको सम्झौताको पक्षमा मत दिएपछि ट्वीटरलाई मक्स विरुद्ध कानुनी कदम चाल्न सहयोग पुगेको हो । मक्स र ट्वीटरको मुद्दा डेलावेयर स्टेट कोर्टमा दर्ता भएको छ । उक्त मुद्दा अक्टोबर महिनामा सुनुवाइ हुने छ ।
ट्वीटरलाई एलनले ४४ बिलियन डलरमा किन्ने जनाएका छन् । अहिले ट्वीटरको भ्यालुएशन ३२ बिलियन डलर रहेको छ ।
प्रतिक्रिया