काठमाडौं- सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा पहिलो दिनमै झन्डै ३ लाख आवेदन परेको छ ।
कम्पनीको आईपीओमा बुधबार साँझ ५ बजेसम्ममा २ लाख ९० हजार ८२७ वटा आवेदनबाट ३३ करोड २३ लाख २८ हजार रुपैयाँ बराबरको ३३ लाख २३ हजार २८० कित्ता शेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणलाई निष्काशन गरेको १० लाख ५८ हजार कित्ता शेयरको ३.१४ गुणा बढी हुन आउँछ ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता शेयर निष्कासनमा ल्याएको हो । त्यसमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी १० लाख ५८ हजार कित्ता शेयरका लागि मात्रै आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले निष्कासन गरेको शेयरमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेकाले असोज २ गते सम्म मात्रै आवेदन दिन सकिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।
प्रतिक्रिया