भिसाबापत संकलित नेपाली रुपैयाँको सटही सुविधासम्बन्धी व्यवस्था थप

३ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले भिसाबापत संकलित नेपाली रुपैयाँको सटही सुविधासम्बन्धी थप व्यवस्था गरेको छ । 

केन्द्रीय बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०७८ मा संशोधन गर्दै भिसाबापत संकलित नेपाली रुपैयाँको सटही सुविधासम्बन्धी थप व्यवस्था गरेको हो । 

यसअघि नेपालस्थित विदेशी राजदूतावास वा नियोगहरूले भिसा दस्तुरबापत संकलन गरेको नेपाली रुपैयाँबराबरको विदेशी मुद्रा आफ्नो राष्ट्रमा पठाउनुपर्दा सम्बन्धित विदेशी राजदुतावास वा नियोगको आधिकारिक अनुरोधपत्रका आधारमा सम्बन्धित बैंकले यस्तो सटही उपलब्ध गराउन सक्ने व्यवस्था छ । 

यस्तो सटहीको विवरण महिना समाप्त भएको १५ दिनभित्र अनिवार्य रुपमा राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागलाई उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।

राष्ट्र बैंकले अब ई–भिसा प्रणालीबाट भिसा आवेदन लिने व्यवस्था गरेका मुलुकले सो कार्य गर्न नेपालस्थित अन्य संस्थालाई तोकेमा देहायबमोजिमका सर्तहरु पालना हुने गरी त्यस्ता तोकिएका संस्थाहरुमार्फत भिसाबापत संकलित रकमको लागि बैंक तथा वित्तीय संस्थाबाट जारी विद्युतीय वा डिजिटल कार्डमार्फत सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था थप गरेको हो । 

भिसा शुल्कबापत संकलित रकम त्यस्तो कार्डबाट भुक्तानी हुने गरी सिधै विदेशी मुलुकका सरकारी निकायको तोकिएको परिवत्र्य विदेशी मुद्राको खाता वा सम्बन्धित देशको नेपालस्थित दूतावास वा नियोगको तोकिएको परिवत्र्य विदेशी मुद्राको खातामा मात्र जम्मा हुनुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले थपेको छ । 

सोका लागि उल्लिखित भुक्तानीको व्यवस्था स्पष्ट रुपमा खुल्ने सम्बन्धित मुलुक वा नेपालस्थित दूतावास वा नियोगको पत्रसमेत आवश्यक पर्ने राष्ट्र बैंकले जनाएको छ । 

यस्तो कार्डबाट अन्य कुनै पनि प्रयोजनका लागि भुक्तानी नहुने व्यवस्था गर्नुपर्ने राष्ट्र बैंकले निर्देशन दिएको छ । यस्तो कार्डको म्याद ई–भिसा प्रोसेसिङसम्बन्धी कार्य गर्नका लागि तोकिएको अवधिभन्दा बढी नहुने व्यवस्था गर्नुपर्ने राष्ट्र बैंकले नियम ल्याएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया