काठमाडौं- नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार सञ्चालन (दोस्रो संशोधन) नियमावली २०७९ सार्वजनिक गरेको छ । बोर्डले धितोपत्र ऐन २०६३ को दफा ११६ ले दिएको अधिकार प्रयोग गरी सरकारको स्वीकृति लिएर नियमावली सार्वजनिक गरेको हो ।
नियमावली अनुसार नयाँ स्टक एक्सचेञ्जको चुक्ता पूँजी न्युनतम ३ अर्ब रुपैयाँ हुनुपर्नेछ । तर नेपाल स्टक एक्सचेञ्जको लागि भने लागू नहुने नियमावलीमा उल्लेख छ ।
यस्तै कारोबार सञ्चालनमा आएको दुई वर्ष भित्र जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणको लागि शेयर निष्कासन गर्नुपर्नेछ ।
नेपाल बाहेक अन्य मुलुकमा पनि धितोपत्र बजार सञ्चालन गरिरहेको कम्पनी वा संगठित संस्थाले पनि लगानी गर्न सकिने व्यवस्था छ ।
त्यसको लागि १० वर्षदेखि धितोपत्र बजार सञ्चालन गरिरहेको तथा प्रचलित कानून बमोजिम नेपालमा लगानी वा व्यवसाय गर्न अनुमति पाएको कम्पनी वा संगठित संस्थाले हुनु पर्नेछ ।
यस्तै धितोपत्र बजारमा संगठित संस्था र धितोपत्र व्यवसायीले मात्रै लगानी गर्न सक्ने व्यवस्थालाई संशोधन गर्दै अब प्राइभेट कम्पनी र संगठित संस्थाले लगानी गर्नसक्ने व्यवस्था भएको छ। कुनै एक कम्पनी संगठित संस्था वा त्यस्ता संस्थाको सञ्चालक र शेयरधनी, निजको नजिकको नातेदार रहेका कम्पनीले धितोपत्र बजारको कुल शेयर पुँजीको १५ प्रतिशतसम्म सेयर लगानी गर्नसक्ने व्यवस्था भएको छ। यसअघि १० प्रतिशत मात्रै लगानी गर्नसक्ने व्यवस्था थियो।
प्रतिक्रिया