काठमाडौं - मर्जर प्रक्रिया स्वीकृत गर्न सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीले एकैदिन विशेष साधारण सभा बोलाएका छन् ।
दुवै कम्पनीको सञ्चालक समितिले असोज ११ गते विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेका हुन् । सानिमाको सभा काठमाडौंको चन्डोलीसथत कुण्डलिनी दरबार बैंक्वेटमा र जनरलको सभा काठमाडौंको डिल्लीबजारस्थित अमृतभोगमा हुनेछ ।
दुवै सभा बिहान ११ बजेबाट सुरु हुनेछन् । दुवै सभाले सानिमा र जनरल इन्स्योरेन्स आपसमा मर्ज हुनेसम्बन्धी विशेष प्रस्तावलाई पारित गर्नेछ । मर्जरपछि कम्पनीको नाम ‘सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेड’ राख्ने अर्को विशेष प्रस्ताव पारित गर्नेछ ।
सभाले चल–अचल सम्पत्त तथा दायित्व मूल्यांकन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्थासमेतका आधारमा निर्धारण गरिएको सेयर अनुपात १ः१ कायम गर्ने गरी मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ ।
सोही सभाले मर्जरपश्चात संस्थापक तथा सर्वसाधारण सेयरधनीको सेयर अनुपात ५१ः४९ कायम गर्न प्रस्ताव पारित गर्नेछ ।
विशेष साधारणसभा प्रयोजनार्थ दुवै कम्पनीले असोज ६ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । यसको अर्थ असोज ६ गतेअघि कायम सेयरधनीहरुमात्रै यी दुवै कम्पनीको सभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया