काठमाडौं - ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीतिअनुरुप सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरु क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको एनआईसी एशिया बैंकले ग्राहक पहिचानसम्बन्धी विवरण संकलन तथा अद्यावधिक गर्न सकिने भिडियो केवाईसी सेवाको शुभारम्भ गरेको छ ।
बैंकमा अनलाइन खाता खोल्ने स्वदेश वा विदेशमा रहेका ग्राहकले भिडियो कलका माध्यमबाट ग्राहक पहिचानसम्बन्धी विवरण बैंकलाई सहज रुपमा प्रदान गर्न सकिने व्यवस्था गरिएको छ । बैंकको वेबसाइट www.nicasiabank.com मार्फत अनलाइनबाट खाता खोल्दा ग्राहकलाई केवाईसी विवरण सम्बन्धमा दुई विकल्प राखिएको छ ।
जसमा ग्राहकले आफ्नो केवाईसी आफूलाई पायक पर्ने शाखामा गई उपलब्ध गराउने वा सम्वन्धित बैंक कर्मचारीसँग भिडियो कल गरी उक्त कलमार्फत केवाईसी विवरण अद्यावधिक गर्ने भन्ने विकल्प दिने व्यवस्था गरिएको छ ।
यदि भी–केवाईसीमार्फत आफ्नो केवाईसी जानकारी सम्बन्धित बैंकलाई उपलब्ध गराउने हो भने ग्राहकले आफ्नो अनुकूल समयअनुसार सम्बन्धित बैंकका कर्मचारीलाई बैंकको कार्यालय समयमा सम्पर्क गरी भिडियो कलमार्फत आफ्नो केवाईसी विवरण बैंकलाई उपलब्ध गराउन सक्नेछन् वा बैंकिङ समयमा भी–केवाईसीको भिडियो कलका लागि अपोइन्टमेन्ट बुक गरी सो समयमा केवाईसी विवरण अद्यावधिक गर्नुपर्नेछ ।
ग्राहकले भी–केवाईसीका लागि कल गर्दा आफ्नो पहिचान खुल्ने कुनै एक पहिचानपत्र (नागरिकतारपासपोर्टरड्राइभिङ लाइसेन्सरभोटर आईडी) तथा सेतो कागज र कालो÷निलो मसी भएको पेन आफूसँग राखी बैंक कर्मचारीले माग गरेबमोजिमका विवरण तथा कागजात उक्त भिडियो कलमार्फत देखाउनुपर्ने हुन्छ ।
भिडियो केवाईसीमार्फत केवाईसी विवरण अद्यावधिक गरेपश्चात ग्राहकले आफ्नो बैंक खाता पूर्ण रुपमा सञ्चालन गर्न सक्नेछन् । भी–केवाईसीमार्फत आफ्ना विवरणहरु अद्यावधिक गरी लाभ लिन बैंकले सम्पूर्ण ग्राहकलाई अनुरोध गरेको छ ।
मुलुकभर रहेका ३५९ शाखा कार्यालय, ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक बन्न सफल भएको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रुपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनताले यस बैंकमार्फत सेवा लिइरहेका छन् ।
देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रु। १९ अर्ब ९२ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा करिब रु। ३ अर्ब ४१ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकका रुपमा स्थापित हुन बैंक सफल भएको छ । जुन समग्र देशको अन्य कम्पनीहरुको तुलनामा छैटौँ ठूलो योगदान रहेको छ ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालीकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाको उपस्थिति न्यून रहेका दुर्गम जिल्लामा तथा कुनै पनि बैंक तथा वित्तीय संस्था नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको । देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालय स्थापना गरेको छ ।
प्रतिक्रिया