विदेशी लगानीकर्ताले अबदेखि अनलाइनबाटै लगानी प्रस्तावको प्रक्रिया र प्रगतिको जानकारी लिन सक्ने

३ बर्ष अगाडि

काठमाडौं - विदेशी लगानीकर्ताले अबदेखि अनलाइनबाटै आफ्नो लगानी प्रस्तावको प्रक्रिया र प्रगतिबारे जानकारी लिन सक्ने भएका छन् । ठूला पूर्वाधार आयोजनामा वैदेशिक लगानी प्रवद्र्धन गर्दै आएको लगानी बोर्डको कार्यालयले यससम्बन्धी पूर्वाधार तयार गरिसकेको छ ।

लगानी बोर्डले २०७५ सालमा आयोजना गरेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा जनाएको प्रतिबद्धताअनुरूप भौतिक रूपमा एकल बिन्दु सेवा केन्द्र सञ्चालन गर्दै आएकोमा अब यसलाई भर्चुअल (अभौतिक) स्वरूपमा विकास गरेको हो । उद्योग विभागले पनि त्रिपुरेश्वरस्थित आफ्नो कार्यालय परिसरमा एकल बिन्दु सेवा केन्द्र सञ्चालन गर्दै आएको छ ।

बोर्डले निर्माण गरेको सो प्रणालीमा विदेशी लगानीकर्ताले नेपालमा लगानी गर्न आवदेन गरेदेखि नै पहुँच पाउने छन् । त्यस्तो प्रस्तावमा सरोकार राख्ने सरकारी विभाग तथा निकायले पनि सोही प्रणालीमा प्राप्त आवेदन विवरण तथा कागजातका आधारमा सहजीकरण तथा अन्य नियामकीय प्रक्रिया पूरा गर्नुपर्ने छ ।

प्रणालीमा लगानी बोर्डसहित नेपाल राष्ट्र बैङ्क, अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालय, वन तथा वातावरण मन्त्रालयजस्ता करिब १५ सरोकारवाला निकायलाई आबद्ध गरिएको छ । यो प्रणाली कार्यान्वयनमा आएपछि अब विदेशी लगानीकर्ताले आफूले गरेको प्रस्ताव कुन निकायले अध्ययन गरिरहेको छ र के कस्ता विषयलाई थप प्रस्टीकरण गर्नुपर्ने हुन्छ भन्ने स्पष्ट जानकारी पाउनेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया