काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले एसियाली विकास बैंक (एडीबी) लाई नेपालको निजी क्षेत्रलाई प्रोत्साहित गर्न र सहुलियतपूर्ण ऋण उपलब्ध गराउन आग्रह गरेका छन् ।
एडीबीका उपाध्यक्ष अशोक लाभाशासँग कुराकानी गर्दै मन्त्री शर्माले प्रदेशगत सन्तुलन गरेर सहयोग बढाउँदा नेपालको ग्रामीण अर्थतन्त्रको विकास हुने बताए । ‘निजी क्षेत्र नेपालको आर्थिक उन्नतिको इन्जिन भएकाले सरकारले उक्त क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको छ’, उनले भने ।
शर्माले नेपाल २०२६ सम्ममा अतिकम विकसित देशबाट स्तरोन्नति हुँदै गरेको हुनाले उक्त लक्ष्य हासिल गर्न निजी क्षेत्रको योगदान महत्वपूर्ण हुने पनि बताए । नेपालले जलवायु परिवर्तनमा कुनै योगदान नगरे पनि त्यसको मार भने खेपिरहेको उल्लेख गर्दै उनले नेपालमा हरित अमोनिया, हाइड्रोजनजस्ता वैकल्पित ऊर्जा उद्योगमा सहयोग गर्न अनुरोध पनि गरे ।
प्रतिक्रिया