नयाँ स्टक एक्सचेन्ज आवश्यक नभएको भन्दै विरोधमा उत्रिए कर्मचारी

३ बर्ष अगाडि

काठमाडौं, नेप्से कर्मचारी संघले नयाँ स्टक एक्सचेन्ज आवश्यक नरहेको जनाएको छ। 

गत सोमबार बसेको मन्त्रिपरिषद्ले सेबोनको संशोधित नियमावली स्वीकृत गर्दै नयाँ स्टक एक्सचेन्ज सञ्चालनको बाटो खुला गरेको छ। योसँगै नेप्से कर्मचारी संघले आज विज्ञप्ति जारी गर्दै नयाँ स्टक एक्सचेन्ज आवश्यक नरहेको जनाएको छ। संघले नयाँ स्टक एक्सचेन्ज आवश्यक नरहनुमा आफ्ना विभिन्न तर्कहरु पनि पेस गरेको छ। 

विज्ञप्तिमा धितोपत्र बोर्डसँग दुई वटा स्टक एक्सचेन्ज नियमन गर्ने स्रोत साधन पर्याप्त नरहेको समेत आरोप छ। “अहिले नेप्सेमा २४० सङ्गठित संस्था सूचीकृत छन् । निरन्तर बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी,हाइड्रोपावर लगायतका सूचीकृत कम्पनीको मर्जर र एक्विजिसनका कारण यो संख्या घट्दो छ । अनि ९०–१०० वटा सूचीकृत कम्पनी लिएर दुई– दुई वटा स्टक एक्सचेन्ज चल्न सक्छन् ? एकीकृत हुनुपर्ने पूँजी बजार खण्डीकरणतर्फ जाँदा वित्तीय औजारहरूको मूल्य निर्धारण (प्राइस डिस्कभरी), जोखिम व्यवस्थापन,पुँजी परिचालन, संस्थागत सुशासन जस्ता स्टक एक्सचेन्ज सञ्चालनका मूल उद्देश्यमा कस्तो असर पर्ला ? एउटै स्टक एक्सचेन्ज नियमन गर्न हम्मे परेको धितोपत्र बोर्डमा दुइवटा स्टक एक्सचेन्ज नियमन गर्ने स्रोत साधन पर्याप्त छ ?“विज्ञप्तिमा प्रश्न गरिएको छ।

विज्ञप्तिको अन्त्यमा नेप्सेलाई टाट पल्टाएर कवाडी सामाग्रीको मूल्यमा बिक्री गर्न लागिएको भन्दै नेप्से कर्मचारी रुष्ट देखिएका छन्।“नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)लाई टाट पल्टाएर कवाडी सामाग्रीको मूल्यमा विलय गराउने स्वार्थी समूहको उद्देश्य रहेको छ । नियामक निकायका केही वरिष्ठ पात्रहरू धनाढ्य व्यापारीहरूको प्रभावमा परेर नेप्सेको अर्बौंंको सरकारी सम्पत्तिलाई कौडीको भाउमा सिद्धाउने बाटोमा हिँडेको प्रस्ट देखिन्छ” विज्ञप्तिमा भनेका छन्।

साथै नेप्सेलाई आउने दिनमा प्रतिस्पर्धी बनाउन उनीहरूले सुझाव पनि दिएका छन्। “नेप्सेलाई प्रतिस्पर्धी बनाउन यसका लागि रणनैतिक विदेशी साझेदार ल्याउनु पर्ने,नेप्सेको आधुनिक पुनः संरचना गर्दै यसैलाई सुदृढीकरण र आधुनिकीकरण गर्नु पर्ने,धितोपत्र सम्बन्धी उपकरणहरूको विविधीकरण गर्नु पर्ने, डेरिभेटिभ साथै कमोडिटिज मार्केटको विकास,वैकल्पिक लगानी कोषहरूको व्यवस्था,गैर आवासीय नेपाली र विदेशी संस्थागत लगानीकर्तालाई भित्र्याउनु पर्छ” नेप्से कर्मचारी संघ अध्यक्ष नवराज थापा द्वारा हस्ताक्षरित विज्ञप्तिमा सुझाव दिइएको छ।   

३ बर्ष अगाडि

प्रतिक्रिया