काठमाडौँ महानगर क्षेत्रभित्र निर्माण भएका अनधिकृत संरचनाको नक्सा पास गर्न ९० दिनको समयसीमा तोकियो

३ बर्ष अगाडि

काठमाडौं - काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र निर्माण भएका अनधिकृत संरचनाको नक्सा पास गर्न ९० दिनको समयसीमा तोकेको छ । महानगरले सूचना जारी गर्दै मापदण्ड अनुकूल रहेका तर नक्सा पास नगरी बनेका संरचनाहरूको तीन महिनाभित्रमा स्वीकृत लिन अनुरोध गरेको हो ।

काठमाडौं महानगरले महानगर क्षेत्रभित्र सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको नक्सा पास नगरी भवन बनाइएको ९० दिन भित्रमा नक्सा स्वीकृत गरी नियमित गर्न व्यक्ति, संघसंस्था, संस्थान वा सरकारी कार्यालयलाई आव्हान गरेको छ ।

तोकिएको समयमा नक्सा पेस नगरेमा त्यस्ता भवनको विवरण संकलन गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड, संहिता, कार्यविधि र कार्यालयको निर्णय बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने महानगरद्वारा जारी सूचनामा उल्लेख छ ।

महानगरको शहरी व्यवस्थापन विभागले नक्सा पास नगरी बनेका संरचना तोकिएको समयभित्र नक्सा पास नगरेमा कारबाही प्रक्रिया अघि बढाउने बताएको छ ।
साथै महानगरले भवनको मात्रै नभएर सीमा पर्खालको नक्सा ३५ दिनभित्र पास गर्न अनुरोध गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया