काठमाडौं - नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा २० अर्ब रुपैयाँ तरलता पठाउने भएको छ । केन्द्रीय बैंकले वित्तीय क्षेत्रको तरलता अवस्था सहज बनाउन रिपो मार्फत तरलता प्रवाह गर्ने भएको हो ।
पछिल्लो समयमा बैंक वित्तीय संस्थामा तरलता अभावको समस्या जटिल बन्दै गएको छ । बैंकहरूले तरलता व्यवस्थापनका लागि स्थायी तरलता सुविधा उच्च दरमा प्रयोग गर्दै आएका छन ।
केन्द्रीय बैंकले आज १४ दिने अवधिका लागि २० अर्ब रुपैयाँ बराबरको रिपो बोलकबोल मार्फत जारी गर्ने भएको हो । असोज ६ गते परिपक्क हुने उक्त रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरूले बिहीबार दिउँसो २ बजेसम्म बिडिङ मार्फत लगानी गर्न पाउनेछन् ।
केन्द्रीय बैंकले बजारमा तरलता अपुग भएको बेला रिपो जारी गरेर तरलता प्रवाह गर्ने गर्दछ । रिपो जारी गर्दा बैंकहरूले आफूसँग भएको सरकारी ऋणपत्र धितो राखेर केन्द्रीय बैंकबाट कर्जा लिन पाउँछन् ।
प्रतिक्रिया