हिमालयन बैंकको २५ लाख कित्ता ऋणपत्रमा आवेदन दिने समय थप, ब्याजदर कति ?

३ बर्ष अगाडि

काठमाडौं - हिमालयन बैंक लिमिटेडले भदौ १५ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने मिति लम्बिएको छ । बैंकले निष्कासनमा ल्याएको ७ वर्ष अवधिको ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ मा अब भदौ २९ गतेसम्म आवेदन दिन सकिने भएको छ ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । सोमध्ये ४० प्रतिशत अर्थात १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणलाई बाँडफाँड गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँड गरिने बैंकले जनाएको छ । 

सर्वसाधारणलाई निष्कासन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ । सो ऋणपत्र खरिदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया