राजदूतहरुसँग भएको छुट्टाछुट्टै भेटवार्तामा नेपालमा लगानीका लागि भूमिका निर्वाह गर्न चेम्बरको आग्रह

३ बर्ष अगाडि

काठमाडौं - नेपाल चेम्बर अफ कमर्सले व्यापार प्रवर्द्धन एवं लगानीका लागि राजदूतहरुसँग आग्रह गरेको छ । 

काठमाडौंको जमलस्थित चेम्बर भवनमा राजदूतहरुसँग भएको छुट्टाछुट्टै भेटवार्तामा चेम्बरले नेपालमा लगानीका लागि भूमिका निर्वाह गर्न आग्रह गरेको हो । 

दक्षिण कोरियाका लागि नवनियुक्त राजदूत डा ज्योति प्याकुर्यालसमक्ष चेम्बर अध्यक्ष राजेन्द्र मल्लले आर्थिक रुपमा समृद्ध कोरियाबाट लगानी प्रवर्द्धन गर्न आग्रह गरे । 

नेपालमा लगानीसँगै कोरियाको उच्चस्तरीय प्रविधि भित्र्याउनका लागिसमेत पहल गर्नुपर्ने अध्यक्ष मल्लको भनाइ छ । 

ईपीएसमार्फत कोरियामा ७७ हजार नेपाली युवाहरु कार्यरत रहेको भन्दै अध्यक्ष मल्लले नेपालीहरुकै सीप र लगानीलाई प्रवर्द्धन गर्न सकियो भने मुलुकले धेरै फाइदा लिन सक्ने बताए । 

कोरियाली बहुर्राष्ट्रिय कम्पनीहरु नेपालमा स्थापनका लागि पहल गर्न पनि अध्यक्ष मल्लले राजदूत डा प्याकुर्यालको ध्यानाकर्षण गराए । 

भेटवार्तामा राजदूत प्याकुर्यालले पनि आफ्नो कार्यकालमा लगानी प्रवर्द्धन र द्विपक्षीय व्यापार नै पहिलो प्राथमिकता रहेको बताइन्। 

यस्तै चेम्बर पदाधिकारीले नेपालका लागि स्लोभाकियाका राजदूतसँग पनि चेम्बर भवनमा भेटवार्ता गरेका छन् । भेटवार्तामा नेपालमा लगानीको सम्भावना एवं द्विपक्षीय व्यापारबारे छलफल भएको छ । 

अध्यक्ष मल्लले स्लोभाकियामा नेपालको हस्तकलाका सामानहरु कपडा, कार्पेट लगायतको निर्यातमा सहजिकरण गर्न राजदूत रोबर्ट म्याक्सिएनसंग आग्रह गरे । सूचना प्रविधि एवं पर्यटन क्षेत्रमा पनि लगानी गर्न अध्यक्ष मल्लले आग्रह गरे । 

स्लोभाकियाबाट हाल वार्षिक ५ हजारको हाराहारीमा पर्यटक नेपाल आइरहेको भन्दै यो संख्या अझै वृद्धि गर्नमा सहयोग गर्न अध्यक्ष मल्लले राजदूत म्याक्सिएनसँग आग्रह गरे । 

जवाफमा राजदूत म्याक्सिएनले नेपालसँग उच्चस्तरीय आर्थिक सम्बन्ध विस्तार गर्न आफू प्रतिबद्ध रहेको बताए । यसका लागि आफूले सरकारीस्तरमै पहल गरिरहेको उनको भनाइ छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया