काठमाडौं- साताको दोस्रो कारोबारको दिन (सोमबार) शेयर बजारमा झिनो सुधार देखिएको छ । तीन दिनदेखि उच्च अंकले घटिरहेको शेयर बजारमा सोमबार भने सामान्य सुधार देखिएको हो ।
कारोबारको अन्तिम समयसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ३.७६ अंकले बढेर १९९३.०२ विन्दुमा पुगेको छ।
यस दिन कारोबार रकममा भने गिरावट देखिएको छ। सोमबार १ अर्ब २६ करोड ६६ लाख १९ हजार १५० रुपैयाँ बराबरको ३४ लाख ४० हजार ९०० कित्ता शेयर कारोबार भएको छ। अघिल्लो दिन २ अर्ब रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको थियो।
सोमबार विन लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ७.४८ प्रतिशतले बढेको छ भने रिलायन्स फाइनान्सको ६.६४ प्रतिशत,मैलुङ खोला जलविद्युतको ५.८४ प्रतिशत र सिभिल लघुवित्तको ४.९६ प्रतिशतले बढेको छ।
यता रुरु जलविद्युतको शेयरमूल्य सबैभन्दा धेरै ५.७० प्रतिशतले घटेको छ भने सामुदायिक लघुवित्तको २.४७ प्रतिशत,हिमाल दोलखा जलविद्युतको २।३८ प्रतिशत, राधी विद्युतको २.३५ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको २.११ प्रतिशतले घटेको छ।
सोमबार नेपाल दुरसञ्चार कम्पनीको सबैभन्दा धेरै ११ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने अरुण कावेलि हाइड्रोपावरको ५ करोड, हिमालयन डिस्टिलरीको ४ करोड र शिवम् सिमेन्टको ३ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
यस दिन कारोबारमा आएका १३ उपसमूहमा ९ उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने ४ उपसमूहको सूचक नकारात्मक देखिएका छन्।
प्रतिक्रिया