दोलखा - जिल्ला प्रशासन कार्यालय दोलखाबाट वैदेशिक यात्राका लागि एक वर्षको अवधिमा ८ हजार ६३ नागरिकले राहदानी लिएका छन् ।
वैदेशिक रोजगारी, अध्ययन तथा भ्रमणकका लागि विदेश जाने नेपालीको संख्या वृद्धि भएसँगै राहदानी बनाउने नागरिकको संख्यासमेत अघिल्ला वर्षको तुलनामा वृद्धि भएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।
नौ स्थानीय तह रहेको दोलखाबाट एक वर्षको अवधिमा आठ हजार ६३ थान राहदानी जिल्ला प्रशासन कार्यालय दोलखाबाट वितरण गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयले जनाएअनुसार ३५ दिनभित्र लिने गरी साधारण राहदानीका लागि तीन हजार सात सय २३ जना पुरुष र दुई हजार तीन सय ६१ महिला गरी जम्मा छ हजार ८४ जनाले राहदानीका लागि फारम भरेका थिए ।
त्यस्तै एक हप्ताभित्र राहदानी दिनेले दु्रत राहदानीका लागि एक हजार ४२ जना पुरुष र नौ सय ३७ जना महिला गरी जम्मा एक हजार नौ सय ७९ जनाले फाराम भरेका थिए ।
दोलखामा राहदानीका लागि फाराम भर्ने नागरिकबाट एक वर्षको अवधिमा रु दुई करोड ७१ लाख ३७ हजार आठ सय ४० राजस्व संकलन भएको प्रशासन कार्यालय दोलखाले जनाएको छ ।
प्रतिक्रिया