काठमाडौं- साताको अन्तिम कारोबारको दिन (शुक्रबार) पनि शेयर बजार दोहोरो अंकले घटेको छ । बिहीबार १८.३० अंक घटेर बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज १६.९३ अंक घटेर २०२२.६२ विन्दुमा झरेको छ।
यस दिन २१३ स्टकको २७ हजार १२० पटकको कारोबारमा १ अर्ब २९ करोड ४८ लाख ३२ हजार रुपैयाँ बराबरको ३५ लाख ८८ हजार कित्ता शेयर कारोबार भएको छ।
बिहीबार १९ स्टकको मात्र शेयरमूल्य बढेको छ। जसमध्ये लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को शेयरमूल्य सर्वाधिक ५.९५ प्रतिशत बढेको छ भने अपर हेवाखोला हाइड्रोपावरको ५ प्रतिशतभन्दा बढी बढेको छ। अन्य स्टकको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ। त्यसैगरी, यस दिन मूल्य घटेका १८८ स्टकमध्ये पञ्जकन्या माइ हाइड्रोपावर र कालिका पावरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६ करोड ६८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिडी पावरको करिब ६ करोडको शेयर खरिदबिक्री भएको छ भने अरुण काबेलीको करिब ५ करोडको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये यस दिन जीवन बीमा उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक घटेका छन्। यस दिन जीवन बीमा उपसमूहको परिसूचक ०.३१ प्रतिशत बढेको छ। कारोबारमा आएको विकासबैंक, वित्त, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।
प्रतिक्रिया