शून्य लागतमा नेपाली स्वास्थ्यकर्मी बेलायत लैजान सम्झौता, योग्यता कति ?

३ बर्ष अगाडि

काठमाडौं - श्रम गन्तव्यको विविधीकरण र नेपाली युवालाई उच्च पारिश्रमिक भएको मुलुकमा रोजगारीका अवसर उपलब्ध गराउने ध्येयका साथ सरकारले बेलायतसँग द्विपक्षीय श्रम समझदारी गरेको छ ।

 श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको उपस्थितिमा सोमबार नेपाल र बेलायतबीच बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगारी प्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । 
 
दुई देशबीच भएको समझदारीअनुसार बेलायतको स्वास्थ्य सेवामा कार्यरत रहँदा नेपाली स्वास्थ्यकर्मीको सेवासुविधा र अधिकार बेलायती स्वास्थ्यकर्मी सरह हुने व्यवस्था मिलाइएको छ । 

नेपाली स्वास्थ्यकर्मीको छनोट, पदस्थापना र सेवा सुविधासम्बन्धी मापदण्ड छलफलमै रहेको र कार्यान्वयन ढाँचा ९इम्प्लिमेन्टेसन प्रोटोकल० अनुसार हुनेगरी द्विपक्षीय सहमति भएको बताइएको छ । 

स्वास्थ्यकर्मीको भर्ना प्रक्रियासँग सम्बन्धित सम्पूर्ण जानकारी श्रम मन्त्रालयको वेभसाइटमा राखिनेछ । बेलायत रोजगारीका लागि आवश्यक योग्यता पुगेका व्यक्तिले अनलाइमार्फत वैदेशिक रोजगार विभागमा आवेदन दिन सक्नेछन् । 

समझदारीले जनशक्तिको भर्नाका लागि तेस्रो पक्षको संलग्नतालाई अस्वीकार गरेको छ । स्वास्थ्य जनशक्तिको भर्ना प्रक्रियामा तेस्रो पक्षको संलग्नता हुने छैन । रोजगारीका लागि बेलायत जान चाहनेले सम्बन्धित सरकारी निकायमा सम्पर्क गर्नुपर्नेछ ।

तोकिएको योग्यता पुगेका महिला तथा पुरुष सबैले आवेदन गर्न सक्नेछन् । सबैका लागि समान अवसर प्रदान गरिएको छ । दुई देशबीच भएको समझदारीअनुसार भर्ना प्रक्रियालाई निष्कर्षमा पुर्याउन प्रोटोकल निर्माण गरिने जनाइएको छ । बेलायत रोजगारीका लागि नेपाली स्वास्थ्यकर्मीको निश्चित योग्यता हुनुपर्ने व्यवस्था गरिएको छ । 

रोजगारीका लागि बेलायत जान चाहने नेपाली राहदानीबाहक स्वास्थ्यकर्मीको उमेर २० देखि ४५ वर्ष बीचको हुनुपर्नेछ । त्यस्ता जनशक्तिले निश्चित शैक्षिक योग्यता प्राप्त गरेको हुनुपर्नेछ । स्टाफ नर्सका रुपमा काम गर्दै आएको, नर्सिङमा स्नातक उत्तीर्ण वा नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाबाट नर्सिङमा स्नातकोत्तर भएको हुनुपर्नेछ । 

 नेपाल नर्सिङ काउन्सिलबाट व्यावसायिक लाइसेन्स लिएको र कम्तीमा दुई वर्षको अनुभव भएका व्यक्तिले आवेदन दिन सक्नेछन् । अंग्रेजी भाषामा दक्ष हुनुपर्नेछ । अंग्रेजी भाषा परीक्षामा कम्तीमा ६।५ नम्बर ल्याउनुपर्नेछ । छनोट चरण उत्तीर्ण गर्ने व्यक्तिले कुनै पनि शुल्क तिर्नुपर्ने छैन । शून्य लागतमा स्वास्थ्य क्षेत्रका जनशक्ति बेलायतमा रोजगारीका लागि जान पाउनेछन् । 

 
 

३ बर्ष अगाडि

प्रतिक्रिया