भदौ १७ बाट ३ अर्बको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्दै कुमारी बैंक, ब्याजदर कति ?

३ बर्ष अगाडि

काठमाडौं - कुमारी बैंक लिमिटेडले वार्षिक ११ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले भदौ १७ गतेदेखि ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ निष्कासन तथा बिक्री खुला गर्न लागेको हो । 

सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । 

सो मध्ये ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । 

सर्वसाधारणलाई निष्कासन गरिने ऋणपत्र मध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ । सो ऋणपत्र खरिदका लागि छिटोमा भदौ २१ गतेसम्ममा आवेदन दिनुपर्नेछ । 

सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि भदौ ३१ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

  लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैङ्किङ लिमिटेड रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया