काठमाडौं महानगरपालिकाका शिक्षक र कर्मचारीलाई दलीय आबद्धता त्याग्न मेयर बालेनको निर्देशन

३ बर्ष अगाडि

काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ९बालेन०ले शिक्षक र कर्मचारीलाई दलीय आबद्धता त्याग्न निर्देशन दिएका छन् ।

आफ्नो फेसबुकमार्फत सार्वजनिक सूचना जारी गर्दै मेयर साहले महानगरपालिका क्षेत्रका शिक्षक र कर्मचारीलाई दलीय आबद्धता भए तत्काल त्याग्न निर्देशन दिएका हुन् । 

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा सरकारी शिक्षक र कर्मचारीले दलको सदस्यता लिन नपाइने व्यवस्था रहेको उल्लेख गर्दै मेयर साहले दलमा आबद्ध नहुन पनि सचेत गराएका छन् ।

काठमाडौं महानगरपालिकाको कुनै पनि कर्मचारीले राजनीतिक दल वा संगठनको सदस्यता लिन, राजनीतिक क्रियाकलापमा संलग्न हुन वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिन नपाइने व्यवस्था काठमाडौं महानगरपालिका कर्मचारी सेवा ऐन, २०७७ को दफा ४५ ले पनि गरेको साहले अवगत गराएका छन् । 

उक्त कानुनी व्यवस्था तथा सम्मानित उच्च अदालत पाटनको आदेशको परिपालना गर्नु गराउनु काठमाडौं महानगरपालिकाका साथसाथै प्रत्येक राजनीतिक दल, भ्रातृ संस्था वा सुभेच्छुक संस्था तथा महानगरपालिकाअन्तर्गतका शिक्षक तथा कर्मचारीको दायित्व रहेको मेयर साहले उल्लेख गरेका छन् ।

कुनै आबद्धता देखेको खण्डमा आफूलाई ई–मेलमार्फत जानकारी गराउन पनि मेयर साहले आग्रह गरेका छन् । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया