काठमाडौं- नेपाल राष्ट्र बैंकले चौथो पटक पनि ट्रेजरी बिल आफैले खरिद गरेको छ। केन्द्रिय बैंकले भदौ ६ गते बिक्री गरेको ट्रजरी बिलमा करिब ५ अर्बको ट्रेजरी बिल राष्ट्र बैंकले आफैले खरिद गरेको हो।
केन्द्रिय बैंकले २६ दिन अवधिको २ अर्ब रुपैयाँको ट्रेजरी बिलमा सबै आफैले खरिद गरेको छ भने ९१ दिन अवधिको २ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल पनि सबै आफैले खरिद गरेको छ।
यस्तै १८२ दिन अवधिको ६ अर्बको ट्रेजरी बिलमा १५ करोडको राष्ट्र बैंकले खरिद गरेको छ भने अन्य बैंक तथा वित्तीय संस्थालाई ५ अर्ब ८५ करोड रुपैयाँको बिक्री गरेको छ। ३६४ दिन अवधिको ट्रेजरी बिलमा पनि १ अर्ब ५० करोड रुपैयाँको आफैले खरिद गरेको छ भने ५० करोडको ट्रेजरी बिल बैंक तथा वित्तीय संस्थालाई बिक्री गरेको छ।
राष्ट्र बैंक आफैले गरिद गर्न थालेपछि ट्रेजरी बिलको दर घट्दै गएको छ। करिब १४ प्रतिशतसम्म पुगेको ट्रेजरी बिलको दर अहिले ९ प्रतिशतको हाराहारी झरेको छ। २८ दिन अवधिको ट्रेजरी बिलको दर ८.७० प्रतिशत कायउम भएको छ भने ९१ दिन अवधिको ट्रेजरी बिलको दर ९.०८ प्रतिशत, १८२ दिन अवधिको ९.०२ प्रतिशत र ३६४ दिन अवधिको ट्रेजरी बिलको दर ९.०२ प्रतिशत कायम भएको छ।
बैंकहरुले महँगो ब्याजदर राखेर आवेदन पेश गर्न थालेपछि केन्द्रिय बैंकले आफैले ट्रेजरी बिल खरिद गर्न थालेको हो।
प्रतिक्रिया