काठमाडौं, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भोलि (बुधबार) हुने भएको छ।
आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा बिहान १० बजे हुने क्यापिटलले जनाएको छ।
यो लघुवित्तको आईपीओको प्रि–अलटमेन्टको काम भने आइतबार नै सकिएको थियो।
धौलागिरी लघुवित्तले गत साउन २४ गतेबाट साउन २९ गतेसम्म आईपीओ बिक्री गरेको थियो। संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ३१ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो। जसमा ५ प्रतिशतले हुन आउने १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र ०।५ प्रतिशतले हुन आउने ५ हजार १५५ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो। बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका छन्।
निष्कासनको अन्तिम दिनसम्म यो आईपीओमा १९ लाख ५२ हजार ४६० जनाले २ करोड १७ लाख २१ हजार ५७० कित्ताका लागि आवेदन दिएका छन्। यो आईपीओ ७० गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।
यो हिसाबले धौलागिरी लघुवित्तको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। गोलाप्रथाबाट भाग्यमानी ३० हजार ९२९ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानीमध्ये थप ५ जनाले एक–एक कित्ता सेयर पाउनेछन्।
यो आईपीओमा १९ लाख बढी आवेदकबाट हात खाली हुने देखिएको छ।
प्रतिक्रिया