काठमाडौं, बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज (भदौ ७ गते) अन्तिम दिन रहेको छ। बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा ‘बिओके डिबेन्चर, २०८६ (क)’ निष्कासन गरेको हो। सो ऋणपत्रको अवधि ७ वर्ष रहनेछ।
बैंकले भदौ २ गतेदेखि प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका १ अर्ब १० करोड रुपैयाँ बराबरको ११ लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो। सोमध्ये ४० प्रतिशत अर्थात ४४ करोड रुपैयाँ बराबरको ४ लाख ४० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६ लाख ६० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ। सर्वसाधारणलाई निष्कासन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात २२ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।
लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।
बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।
ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई मध्यम कर्जा जोखिम जनाउने इक्राएनपि आईआर त्रिपल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ।
प्रतिक्रिया