काठमाडौं - नेपाल राष्ट्र बैंकले भोली १२ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । केन्द्रीय बैंकले भोली २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो ।
यी ट्रेजरी बिलको बोलकबोल आज हुनेछ । राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो बिल साउन ४ गते परिपक्व हुनेछ । ९१ दिनका लागि २ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल जारी हुनेछ । यो बिल मंसिर ६ गते परिपक्व हुनेछ ।
यसैगरी केन्द्रीय बैंकले १८२ दिनका लागि ६ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । जुुन फागुन ९ गते परिपक्व हुनेछ ।
त्यस्तै राष्ट्र बैंकले ३६४ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दैछ। यो ट्रेजरी बिल २०८० भदौ ५ गते परिपक्व हुनेछ । यी ट्रेजरी बिलको सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ ।
बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ ।
ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
प्रतिक्रिया