काठमाडौं- बैंक तथा वित्तीय संस्थामा गत आर्थिकको असारसम्ममा ५१ खर्ब ५९ अर्ब १७ निक्षेप संकलन भएको छ । कुल निक्षेपमा सबैभन्दा बढी अर्थात् ५४.९७ प्रतिशत मुद्दती निक्षेपको हिस्सा छ । यसअनुसार बैंकिङ प्रणालीमा २८ खर्ब ३५ अर्ब ८१ करोड रुपैयाँ मुद्दती खातामा संकलन भएको छ ।
यसपछि दोस्रो बढीमा बचत खातामा रकम संकलन भएको छ । जसमा कुल निक्षेपको २७.१८ प्रतिशत छ। यसबाहेक चल्ती खातामा कुल निक्षेपको ९ प्रतिशत वा ४ खर्ब ६५ अर्ब ४१ करोड ५० लाख रुपैयाँ रहेको छ । यसपछि कल डिपोजिटमा निक्षेपकर्ताको ७.५८ प्रतिशत अर्थात् ३ खर्ब ९१ अर्ब ६ लाख ७० लाख रुपैयाँ छ। यसबाहेक अन्यमा ६७ अर्ब ६९ करोड ५० लाख रुपैयाँ रहेको छ ।
समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ९ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप २१.४ प्रतिशतले बढेको थियो । २०७९ असारमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.९ प्रतिशत, २७.६ प्रतिशत र ५५.८ प्रतिशत छ। अघिल्लो वर्ष यस्तो अंश क्रमशः १०.४ प्रतिशत, ३४.२ प्रतिशत र ४७ प्रतिशत रहेको थियो। २०७९ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३८.३ प्रतिशत छ।
२०७८ असार मसान्तमा यस्तो निक्षेपको अंश ४२.७ प्रतिशत थियो। वाणिज्य बैंकको औसत आधार दर २०७८ असारमा ६.८६ प्रतिशत रहेकामा २०७९ असारमा ९.५४ प्रतिशत छ। राष्ट्र बैंकले तीनपुस्ते भिडाएर दोहोरो खातालाई एउटै हुने गरी निकालिएको तथ्यांकले मुलुकमा ६७.३ प्रतिशत मानिसमा बैंकिङ पहुँच पुगेको निष्कर्ष निकालिने थियो ।
२०७९ असारसम्ममा कुल खाता संख्या ४ करोड ४९ लाख ७१ हजार ९ सय ६९ पुगेको छ । यो कुल जनसंख्याको भन्दा झन्डै दोब्बरै हुन लागेको छ ।
प्रतिक्रिया