काठमाडौं - धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड आगामी मंगलबार हुने भएको छ । धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार धौलागिरी लघुवित्तको आईपीओ बाँडफाँड कार्यक्रम मङ्गलबारका लागि तय गरिएको हो ।
यद्यपि बाँडफाँड कार्यक्रम कति बजे र कहाँ गर्ने भनेर टुंगो नलागेको क्यापिटलले जनाएको छ । लघुवित्तले गत साउन २४ गतेबाट साउन २९ गतेसम्म आईपीओ बिक्री गरेको थियो ।
संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ३१ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो । जसमा ५ प्रतिशतले हुन आउने १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने ५ हजार १५५ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो । बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका छन् ।
निष्कासनको अन्तिम दिनसम्म यो आईपीओमा १९ लाख ५२ हजार ४६० जनाले २ करोड १७ लाख २१ हजार ५७० कित्ताका लागि आवेदन दिएका छन् । यो आईपीओ ७० गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ ।
यो हिसाबले धौलागिरी लघुवित्तको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गोलाप्रथाबाट भाग्यमानी ३० हजार ९२९ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् । तिनै भाग्यमानीमध्ये थप ५ जनाले एक–एक कित्ता सेयर पाउनेछन् ।
यो आईपीओमा १९ लाख बढी आवेदकबाट हात खाली हुने देखिएको छ ।
प्रतिक्रिया