काठमाडौं - नबिल बैंकले नेपालमा पहिलोपटक आफ्ना क्यूआर मर्चेन्टलाई फोनलोनको सुविधा सुरु गरेको छ ।
नबिल फोनलोन–क्यूआर मर्चेन्ट नामको सेवाको सुरुआतसँगै क्यूआर मर्चेन्टले घरमा बसी–बसी कुनै पनि धितो बिना नै नबिल स्मार्ट बैंकिङमार्फत तुरुन्तै कर्जा पाउन सक्नेछन् ।
नबिल बैंकले यूएनसीडीएफको सहकार्यमा साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीलाई लक्षित गरी यो सुविधा ल्याएको हो । यस सेवाअन्तर्गत कर्जा लिन चाहने व्यवसायीहरुले नबिलको क्यूआर मर्चेन्टमा एकल नाममा दर्ता हुनुपर्नेछ र नबिल स्मार्ट बैंकिङ लिनुपर्नेछ ।
त्यसका साथसाथै अघिल्लो महिनामा ५ वटा क्यूआर कारोबारबाट रु. १० हजारबराबरको कारोबार गर्नुपर्नेछ र पछिल्लो ४ हप्तामा हरेक हप्ता एउटा कारोबार हुनुपर्नेछ । ‘यो नबिलले ल्याएको पूर्ण रुपमा डिजिटल सेवा हो । हामीले कुनै धितो बिना नै क्यूआर कारोबारलाई आधार मानेर हाम्रा क्यूआर मर्चेन्टहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्न नेपालमा पहिलोपटक यो सुविधा ल्याएका हौँ’, बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना बताउँछन् ।
ढुंगाले यो सेवाले साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीलाई आफ्नो व्यवसाय विस्तार गर्न मद्दत पुग्ने र डिजिटल बैंकिङ प्रयोग गर्न प्रेरणा मिल्ने बताए ।
सुरुआती चरणमा व्यवसायीहरुले रु। १ लाखसम्मको बिना धितो कर्जा एक महिनाका लागि लिन सक्नेछन् । यस सुविधालाई अझ परिमार्जित गरी कर्जा रकम तथा समय थप्दै जाने बैंकले जनाए । यसभन्दा अघि नबिल बैंकले पहिलोपटक तलबी व्यक्तिका लागि बिना धितो डिजिटल कर्जा सुविधा नबिल फोनलोन ल्याएको थियो ।
प्रतिक्रिया