बीमा कोष संगै प्रभु इन्स्योरेन्सको बीमाशुल्क आर्जन पनि  १.६४ प्रतिशतले वृद्धि, कति पुग्यो नाफा ?

३ बर्ष अगाडि

काठमाडौं-  प्रभु इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । 

उक्त विवरणअनुसार इन्स्योरेन्सले चालु आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ९४ करोड ५१ लाख ९४ हजार रुपैयाँको बीमा कोष खडा गर्न सफल भएको छ । यस अवधिसम्म कम्पनीको बीमाकोषको आकार १४.३८ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवको यसै अवधिसम्म कम्पनीले ८२ करोड ६३ लाख रुपैयाँ कोषमा संचित गरेको थियो ।

त्यस्तै, असार मसान्तसम्म कम्पनीले १ अर्ब ४२ करोड ९० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यो आम्दानी अघिल्लो आवको तुलनामा १.६४ प्रतिशत बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले १ अर्ब ४० करोड कुल बीमा शुल्क आर्जन गरेको थियो ।

यस अवधिसम्म कम्पनीको व्यवस्थापन खर्च २४.६४ प्रतिशत बढेसँगै नाफा सामान्य बढ्न पुगेको छ । कम्पनीको नाफा यस अवधिसम्म १.८८ प्रतिशत बढेर २३ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, जगेडा कोषको आकार भने १३.६८ प्रतिशत घटेर २२ करोड ९३ लाख रुपैयाँ संचित रहेको छ भने महाविपत्ती कोषको आकार ३१.८६ प्रतिशत बढेर कोषमा ८ करोड ४४ लाख रुपैयाँ संचित रहेको छ । त्यस्तै कम्पनीको खुद दाबी भुक्तानी भने यस अवधिसम्म २.३९ प्रतिशत घटेर १९ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै कम्पनीको हालसम्म जारी बीमालेखको संख्या १ लाख २० हजार ४५५ रहेको छ ।

एक अर्ब २८ करोड चुक्तापुँजी रहेको कम्पनीको यस अवधिसम्म वार्षिकी प्रतिशेयर आम्दानी १८ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ र प्रतिशेयर कुल सम्पत्तिको मूल्य २७२ रुपैयाँ रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया