काठमाडौं - एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा ६ अर्ब ८० करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरणले यस्तो देखाएको हो ।
वित्तीय विवरण अनुसार उक्त बीमा शुल्क अघिल्लो वर्षको यही अवधिको तुलनामा १७.१९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन ५ अर्ब ८० करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आय घटेर २४ करोड २६ लाख रुपैयाँमा सीमित बनेको छ । अघिल्लो वर्ष यस्तो २५ करोड ७ लाख रुपैयाँ रहेको थियो ।
यो अवधिमा कम्पनीले १ अर्ब ४६ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ४७.४८ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ९९ करोड ३२ रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च घटेर ७२ करोड ८० लाख रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष यही अवधिमा कम्पनीको व्यवस्थापन खर्च ७४ करोड २८ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा कम्पनीले जीवन बीमा कोषको आकार २१.१८ प्रतिशतले बढाएर ३२ अर्ब ९ करोड रुपैयाँको उचाइमा पुर्याएको छ । अघिल्लो वर्ष यस्तो कोषमा २६ अर्ब ४८ करोड रुपैयाँमा सीमित थियो । अघिल्लो वर्षको यही अवधिसम्म ८९ करोड ९२ लाख रुपैयाँ रहेको रिजर्भको आकार ३५.१० प्रतिशतले घटेर ५८ करोड ३६ लाख रुपैयाँमा खुम्चिएको छ ।
चौथो त्रैमासमा कम्पनीले १६ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले २५ करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यो हिसाबले नाफामा ३३.३८ प्रतिशतको संकुचन आएको छ ।
चुक्तापुँजी २ अर्ब ५३ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिशेयर आम्दानी (ईपीएस) ६.६७ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ईपीएस १२.६५ रुपैयाँ थियो । पीई रेसियो ८६.०४ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १२८.३७ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया