काठमाडौं - धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गतेदेखि निष्कासन गरेको आईपीओमा ७० गुणा बढी आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार साँझ ५ः०३ बजेसम्ममा १९ लाख ५२ हजार ४६० जना आवेदनबाट २ अर्ब १७ करोड २१ लाख ५७ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख २१ हजार ५७० कित्ता शेयरको लागि आवेदन परेको हो ।
यो सर्वसाधारणलाई निष्कासन गरेको ३ लाख ८ हजार २९५ कित्ता शेयरको ७०।४५ गुणा बढी हुन आउँछ । लघुवित्तले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१० प्रतिशत अर्थात ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ जारी गरेको हो ।
त्यसमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी ३ लाख ८ हजार २९५ कित्ता शेयरका लागि मात्रै आवेदन दिन सक्नेछन् ।
लघुवित्तले निष्कासन गरेको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका अनुसार वितरण हुनेछ । त्यस अनुसार न्यनतम १० कित्ताको दरले शेयर वितरण गर्दा ३० हजार ८२९ जनाले मात्रै शेयर पाउनेछन् ।
प्रतिक्रिया