काठमाडौं - बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्ष सुरु भएको एक महिना नपुग्दै करिब ८ खर्ब रुपैयाँ सापटी चलाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार स्थायी तरलता सुविधा, ओभरनाइट रिपोलगायतका उपकरण मार्फत बैंकहरुले उक्त सापटी लिएका हुन् ।
नयाँ आर्थिक वर्ष लागेपछि पनि बैंकहरुले भारी मात्रामा सापटी लिँदै आएका छन् । आइतबारसम्ममा बैंकहरुले स्थायी तरलता सुविधा मार्फत नै ७ खर्ब १८ अर्ब रुपैयाँ सापटी लिएका छन्। यस्तै ओभरनाइट रिपोमार्फत १६ अर्ब ७० करोड सापटी लिएका छन् ।
बैंकहरुले खासगरी सरकारी ऋणपत्रको धितोमा केन्द्रिय बैंकसँग सापटी लिन पाउँछन् । केन्द्रीय बैंकले बैंकहरुलाई सरकारी ऋणपत्रको धितोमा ९० प्रतिशतसम्म सापटी दिने गर्छन । अहिले यस्तो सापटी साढे ८ प्रतिशत ब्याजदरमा लिँदै आएका छन् ।
केन्द्रिय बैंकको तथ्याँक अनुसार साउन २९ गतेसम्ममा बैंकहरुले राष्ट्र बैंकलाई तिर्न बाँकी सापटी १ खर्ब ७८ अर्ब रुपैयाँ रहेको छ । दैनिक सापटी केहि घटे पनि साउनयता बैंकहरुले राष्ट्र बैंकलाई तिर्न बाँकी रकम झनै बढ्दै गएको छ ।
तरलता सहज नभएपछि बैंकहरुले अन्तरबैंक सापटी पनि केन्द्रिय बैंकले लिएको लक्ष्यभन्दा माथि पुगेर लिन थालेका छन् । पछिल्लो समय बैंकरुले साढे ८ प्रतिशतभन्दा धेरै ब्याजदरमा अन्तरबैंक सापटी लिदै आएका छन् ।
गत बिहीबारको तथ्याँक अनुसार पनि बैंकहरुको अन्तरबैंक कारोबारको दर ८.५१ प्रतिशत कायम भएको छ ।
प्रतिक्रिया