बिक्री तथा वितरण खर्च बढेका कारण हिमालयन डिष्टिलरीको सञ्चालन मुनाफा घट्यो, प्रतिशेयर आम्दानी कति ?

३ बर्ष अगाडि

काठमाडौं - हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब ५ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा झिनो सुधार भएको छ । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.३३ प्रतिशत मात्र बढी हो । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ४ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको आम्दानी १६.५४ प्रतिशत र कुल नाफा १२.५० प्रतिशत बढेको छ । 

त्यसैगरी कुल सञ्चालन आम्दानी ९.१६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ०.५० प्रतिशत घटेको छ । कम्पनीको बिक्री तथा वितरण खर्च बढेका कारण सञ्चालन मुनाफा घट्न पुगेको हो । जसले गर्दा नाफामा पनि दबाब परेको हो ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ७५ प्रतिशत बढेको छ भने जगेडा कोष १६.५० प्रतिशत बढेको छ । ७५ प्रतिशत बोनस शेयर वितरण गरेको यस कम्पनीको प्रतिशेयर आम्दानी समीक्षा अवधिमा ५० रुपैयाँ ५२ पैसा घटेर ६९ रुपैयाँ ५० पैसामा सीमित भएको छ । 

असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ २२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४९ रुपैयाँ ७ पैसा रहेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया