साताको शेयर बजार : ७५ अंकले घट्यो नेप्से, दैनिक औषत कारोबार कति ?

३ बर्ष अगाडि

काठमाडौं, यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साढे ३ प्रतिशत घटेको छ। गत साता २११३.५५ विन्दुमा बन्द भएको नेप्से, यस साता ३.५८ प्रतिशत अर्थात ७५.६३ अंक घटेर २०३७.९२ विन्दुमा बन्द भएको छ।

बजार खुलेको ५ कारोबार दिनमध्ये ४ कारोबार दिन ओरालो लागेसँगै नेप्सेले सो बराबरको अंक गुमाएको हो। 

नेप्सेसँगै, यस साता कारोबार रकममा पनि कमी आएको छ। गत साता दैनिक औषतमा ३ अर्ब ८३ करोडको शेयर कारोबार भएको बजारमा, यस साता २ अर्ब ४१ करोडको मात्र शेयर खरिदबिक्री भएको छ। गत साताको तुलनामा दैनिक औषत कारोबार रकम ३७.१७ प्रतिशत घटेको हो। त्यसैगरी, यस साता औषत शेयर संख्या ३३.०९ प्रतिशत घटेको छ भने औषत कारोबार संख्या २६.७७ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण ३.४९ प्रतिशत घटेको छ। गत साता ३० खर्ब १५ अर्ब रुपैयाँ रहेको नेप्सेको यस्तो पूँजीकरण, यस साता १ खर्ब ५ अर्ब रुपैयाँ घटेर २९ खर्ब १० अर्ब रुपैयाँमा सीमित भएको छ।

यस साता १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक घटेको छ भने म्युचुअल फण्डको सबैभन्दा कम घटेको छ। यस साता अन्य उपसमूहको परिसूचक ७.०१ प्रतिशत घटेको छ। त्यसैगरी, म्युचुअल फण्डको ०.८७ प्रतिशत घटेको छ।

अंकका आधारमा जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३०६.५३ अंक घटेको छ भने म्युचुअल फण्डको ०.१३ अंक घटेको छ।

यस साता ५ कम्पनीको कुल ८ करोड १९ लाख ८४ हजार ४९९.९७ कित्ता शेयर खरिदबिक्री भएको छ। यस साता नेपाल दूरसञ्चार कम्पनी र हिमालयन बैंकको बोनस शेयर सूचीकृत भएको छ भने हिमालयन एभरेष्ट इन्स्योरेन्सको मर्जरपश्चात एकिकृत कारोबारको लागि शेयर सूचीकृत भएको छ। त्यसैगरी, यस साता अपर हेवाखोला हाइड्रोपावरको आईपीओ र प्राइम कमर्सियल बैंकको ऋणपत्र सूचीकृत भएको छ।

यस साता गुराँस लघुवित्तको शेयरमूल्य सर्वाधिक १४.५२ प्रतिशत बढेको छ। त्यस्तै उन्नती सहकार्य लघुवित्तको १० प्रतिशतभन्दा बढी बढेको छ। यता सामलिङ्ग पावर कम्पनीको मूल्य सर्वाधिक १४.२ प्रतिशत घटेको छ। त्यस्तै, घलेम्दी हाइड्रोपावर र समृद्धि फाइनान्सको मूल्य १२ प्रतिशतभन्दा बढी घटेको छ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया