काठमाडौं- साताको चौथो कारोबारको दिन (बुधबार) पनि शेयर बजार ओरालो लागेको छ ।
अघिल्लो दिन ४५ अंकको भारि गिरावटआएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ५.११ अंकले घटेर २०५७.६८ को विन्दुमा झरेको छ ।
नेप्से घटेसँगै आज कारोबार समेत घट्न पुगेको छ । चालु आर्थिक वर्षको सुरुवाती दिनमा शेयरबजार चम्किएर पनि पछिल्ला केही दिनमा कारोबार समेत घट्न थालेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। पछिल्लो समय दैनिक औषतमा २ अर्बभन्दा बढीको शेयर कारोबार भइरहेको बजारमा यस दिन २१८ स्टकको ३६ हजार १३४ पटकको कारोबारमा १ अर्ब ९३ करोड ५५ लाख रुपैयाँ बराबरको ४६ लाख ४० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
नेप्से ओरालो लागेपनि यस दिन हिमालयन हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। हालै मात्र सूचीकृत भइ कारोबारमा आएका कारण कम्पनीको शेयरमूल्य बढेको हो। सो कम्पनीको शेयरमूल्य यस दिन २७ रुपैयाँ ५० पैसा बढेर ३०३ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन युनिलिभर नेपालको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ।
मर्जरपश्चात कारोबारमा आएको हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर भने यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो इन्स्योरेन्सको शेयरमूल्य ५० रुपैयाँ ९८ पैसा घटेर ४५९ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको हो।
कारोबार रकमका आधारमा यस दिन नागरिक लगानी कोष शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १० करोड ६८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्स, हिमालयन डिष्टिलरी र नबिल बैंकको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन लगानी उपसमूहको परिसूचक ०.६९ प्रतिशत र उत्पादन तथा प्रशोधनको ०.५० प्रतिशत बढेको छ। बाँकी ११ उपसमूहको परिसूचक यस दिन घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.४९ प्रतिशत घटेको छ।
प्रतिक्रिया