साढे १७ अंकले ओरालो लागेर २१०६ बिन्दुमा नेप्से, कारोबार रकम भने बढ्यो

३ बर्ष अगाडि

काठमाडौं- साताको दोस्रो दिन कारोबारको दिन (सोमबार) शेयर बजारमा ओरालो लागेको छ । अघिल्लो दिन सामान्य अंकले बढेको नेप्से परिसूचक आज १७.६७ अंकले घटेर २१०६.१६ विन्दुमा कायम भएको छ ।

शेयर बजार घटेपनि कारोबार रकम हिजो तुलनामा बढेको छ । आज ६५ लाख २७ हजार ४१४ कित्ता शेयर खरिदबिक्री हुदाँ २ अर्ब ८५ करोड बढीको कारोबार भएको छ । हिजो शेयर बजारमा अन्तिम समयसम्म २ अर्ब ६७ करोडको मात्र कारोबार भएको थियो । 

नेप्से ओरालो लागेपनि यस दिन दुई स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन गुराँस लघुवित्त वित्तीय संस्था र हिमालयन हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन युनिलिभर नेपाल र आरबिबि म्युचुअल फण्डको मूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको जानकी फाइनान्सको शेयरमूल्य भने यस दिन सर्वाधिक ४.३१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २० करोड ७१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन नबिल बैंकको १० करोड ८५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.१० प्रतिशत बढेको हो भने म्युचुअल फण्डको ०.२७ प्रतिशत बढेको हो। यता, अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.४२ प्रतिशत घटेको छ। त्यस्तै, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत लगानी र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया