काठमाडौँ । नयाँ शैक्षिक शत्र लाग्न अब केही दिन मात्रै बाँकी रहेको छ । विद्यालय स्तरीय पुस्तक छाप्ने अख्तियारी पाएको जनक शिक्षा सामग्री केन्द्र र निजी व्यवसायीले पुस्तक छपाईमा ध्यान नदिदा लाखौृ विद्यार्थी मर्कामा पर्ने भएका छन् ।
हरेक साल जसो शैक्षिक शत्र सुरु हुन थालेपछि मात्रै पुस्तक छपाईको काम सुरु हुने गरेको छ । तर विद्यार्थी सहज रुपमा पुस्तक भने कहिल्यै पाउन सकेका छैनन् ।
नयाँ शैक्षिक सत्र २०७५ का लागि आगामी वैशाख २ गतेदेखि विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पु¥याइने सरकारले लक्ष्य राखेको छ । तर लक्ष्य भने यस पटक पनि पूरा नहुने देखिएको छ ।
सरकारले कक्षा १ देखि ५ सम्मका पुस्तक निजी छापाखाना र कक्षा ६ देखि १० सम्मका पुस्तक जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई छपाइ गर्ने जिम्मा दिएको छ ।
कक्षा १ देखि १० सम्मको ५५ लाख ३० हजार ५३१ विद्यार्थीमध्ये कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने ३३ लाख पाँच हजार ६१४ विद्यार्थीका लागि १ करोड ६५ लाख २८ हजार ७० थान निजी छापाखानालाई पुस्तक छपाइको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी कक्षा ६ देखि १० सम्मका २२ लाख २४ हजार ९१७ विद्यार्थीका लागि १ करोड ९२ लाख ३९ हजार ६५६ थान पाठ्यपुस्तक छपाइ गर्ने जिम्मेवारी जनक शिक्षालाई दिइएको छ ।
शिक्षा विभाग शैक्षिक सामग्री शाखाका उपनिर्देशक देवीरमण अर्यालले पाठ्यपुस्तक वितरणका बारेमा जानकारी दिँदै मुद्रक र वितरकले यही चैत २५ गतेसम्म देशभरका ७७ वटै जिल्लामा पाठ्यपुस्तक पु¥याइसक्नु पर्ने बताए । तर तयारी हेर्दा शैक्षिक शत्र सुरु हुने दिनसम्म विद्यार्थीले पुस्तक पाउने सम्भवना कम रहेको छ ।
तोकिएको जिम्मेवारीअनुसार जनक शिक्षाले मात्रै ७० प्रतिशत पुस्तक छाप्न बाँकी रहेको छ भने निजी छापाखाना सञ्चालनले ७५ प्रतिशतको हारहारीमा मात्रै पुस्तक छापेका छन् ।
शिक्षा विभागले आजदेखि वैशाख २ गतेसम्म पाठ्यपुस्तक वितरणलाई प्रभावकारी बनाउने गरी कार्य अगाडि बढाएको जनाएको छ । पुस्तक छपाईको क्रममा नै रहेकाले विद्यार्थीले आजदेखि नै सबै पुस्तक पाउलान् भन्ने देखिएको छैन ।
वैशाख २ गतेदेखि विद्यार्थी भर्ना अभियान र पुस्तक वितरण कार्यलाई अभियान कै रुपमा सञ्चालन गर्ने विभागले दावी गरेको छ ।
सामुदायिक विद्यालयमा भर्ना हुने कक्षा १ देखि ५ सम्मका सबै बालबालिकालाई यसवर्षदेखि रङ्गीन पाठ्यपुस्तक उपलब्ध गराइने भएको छ ।
जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक महेशप्रसाद तिमल्सेनाले केन्द्रले आफ्नो जिम्मामा आएको ९० प्रतिशत पाठ्यपुस्तक छपाइ सम्पन्न गरी वितरण केन्द्रमा पठाउन शुरु गरेको दावी गरेपनि छापाखाना कार्यरत कर्मचारीकाअनुसार अझै ३० प्रतिशत छाप्न बाँकी रहेको बताएका छन् ।
यसवर्ष विद्यार्थीलाई सेटमै पुस्तक उपलब्ध गराउने र कुनै पनि पुस्तकको अभाव हुन नदिने दावी गरिएपनि त्यस्तो अवस्था नभएको अभिभावक संघले जानकारी दिएको छ ।
दुई करोड छपाई, एक करोड ५७ लाख बिक्यो
जनक शिक्षाले गतवर्ष दुई करोड पुस्तक छपाइ गरेको थियो, जसमध्ये एक करोड ५७ लाख थान पुस्तक बिक्री भयो, ३० लाख पुस्तक अझै मौज्दात रहेको छ ।
यसवर्षका लागि एक करोड ८३ लाख छ हजार पुस्तक छपाइ गर्नुपर्ने अनुमान गरिएको छ । जसमध्ये एक करोड ५० लाख थान पुस्तक छापिएको छ । बाँकी पुस्तक छाप्न अझै १० दिन कम्तीमा पनि लाग्छ ।
निजी छापाखानाका प्रतिनिधि दीपक भण्डारीले यसवर्ष कुनै पनि जिल्लामा पुस्तक अभाव नहुने दाबी गरे ।
उनले कक्षा १ देखि ५ सम्मका पुस्तक छाप्ने जिम्मा पाएको १७ वटा छापाखानाले अहिलेसम्म एक करोड थान पुस्तक छापिसकिएको जानकारी दिए ।
थप २५ लाख थान पुस्तक छपाइको तयारीमा रहेको उनले बताए ।
गतवर्षको बिक्री हुन बाँकी किताव पनि छन्, कुनै पनि जिल्लामा पुस्तक अभाव हुँदैन, समय मै पुग्छ – उनको दावी छ ।
बजेट स्थानीय तहमा संयन्त्र छैन
सरकारले शिक्षाका लागि उपलब्ध गराएको बजेट सोझै स्थानीय तहमा पुर्याएको छ ।
पुस्तक खरिदका लागि सरकारले यसवर्ष देशभरका स्थानीय तहका बजेट पठाईसकेकाले समयमा नै स्थानीय निकायले पुस्तक खरिदका लागि विद्यालयलाई रकम दिने वा स्थानीय तह आफैले पुस्तक खरिद गरी विद्यालयमा वितरण गर्ने व्यबस्था गरे पुस्तक अभाव नहुने विभागको भनाइ छ ।
तर बजेट खर्च गर्ने संयन्त्र भने स्थानीय तहमा नभएको गुनासो आएको छ ।
त्यसैगरी शिक्षा विभागले आगामी वैशाख २ गतेदेखि ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने मूल नाराकासाथ देशभर भर्ना अभिायन शुरु गर्ने तयारी गरेको छ ।
शिक्षा विभाग अनिवार्य शिक्षा शाखाका उपनिर्देशक नरहरि अर्यालले शैक्षिक सत्र २०७४ मा ९७ दशमलव २ प्रतिशत विद्यार्थी भर्ना दर पु¥याएकामा यसवर्ष यसलाई वृद्धि गर्न विद्यार्थी भर्ना अभियान संचालन गरिने बताए ।
प्रतिक्रिया