काठमाडौं - स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमास सम्ममा २० करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
उक्त नाफा अघिल्लो वर्षको तुलनामा ३१.३० प्रतिशतले बढी हो । अघिल्लो वर्ष संस्थाले १५ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ८६.३७ प्रतिशतले बढेर २५ करोड ७२ लाख रुपैयाँ भएको छ ।
अघिल्लो वर्ष यस्तो मुनाफा १३ करोड ८० लाख रुपैयाँमा सीमित थियो । गत वर्ष संस्थाले ४२ करोड ७७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ३४ करोड २ लाख रुपैयाँमा सीमित थियो । खुद ब्याज आम्दानी २५.७३ प्रतिशतले बढेको छ ।
समीक्षा वर्षमा संस्थाले ३ अर्ब ५० करोड रुपैयाँ सापटी लिई ७ अर्ब ३५ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष संस्थाले २ अर्ब ५७ करोड रुपैयाँ सापटी लिई ५ अर्ब ५६ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।
संस्थाको रिजर्भको आकार ४२.७६ प्रतिशतले बढेर २९ करोड ६० लाख रुपैयाँको उचाइमा पुगेको छ । अघिल्लो वर्ष रिजर्भमा २० करोड ७३ लाख रुपैयाँ थियो । संस्थाले एनपीएलमा उल्लेख्य सुधार गर्दै २.३७ प्रतिशतमा झार्न सफल भएको छ ।
अघिल्लो वर्ष एनपीएल २.६३ प्रतिशत थियो । चुक्तापुँजी ५१ करोड ४० लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ३९.४१ रुपैयाँ, पीई रेसियो २१.५९ गुणा र प्रतिसेयर नेटवर्थ १५७.५८ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया