काठमाडौं - आइडिया स्टुडियो नेपालले आफ्नो वार्षिक कार्यक्रम ‘कलेज आइडिया हन्ट २०२२’ को लागि आवेदन खुला गरेको छ । बागबजारस्थित काठमाण्डौ मोडल कलेजमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै आवेदन खुलाएको घोषणा गरेको हो ।
नेपाली समाजको रुपान्तरण र व्यावसायिकताको प्रवर्द्धनमा क्रियाशील आइडिया स्टुडियोले उच्च शिक्षा अध्ययन गरिरहेका तथा नयाँ योजना र आइडियासहित शो उद्यम गर्ने सोच बनाएका विद्यार्थीलाई लक्षित गरी कलेज आइडिया हन्ट २०२२ को आयोजना गरेको हो ।
वर्तमान युग र समयसापेक्ष समस्या र अवसरहरु सम्बन्धित नवीनतम तथा दिगो समाधानसहितका आइडिया भएका विद्यार्थीहरुले कलेज आइडिया हन्टमा आफ्नो योजना पठाउन सक्नेछन् ।
कलेज आइडिया हन्टमा प्राप्त आइडियाहरुमध्येबाट उत्कृष्ट १० योजनालाई व्यवसायसम्बन्धी विभिन्न तालिम तथा परामर्श प्रदान गरिनेछ। उत्कृष्ट ३ विजेताले जनही १ लाख नगद पुरस्कारका साथै आइडिया स्टुडिया सिजन ७ मा सीधै प्रवेश पाउनेछन् ।
साथै इन्क्युबेसन कार्यक्रम, व्यावसायिक सञ्जाल, रियालिटी टीभी शो र लगानीको अवसरसमेत प्राप्त गर्नेछन् । कलेज आइडिया हन्ट २०२२ मा सहभागी हुन चाहने इच्छुक विद्यार्थीले २०७९ भदौ १९ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।
विद्यार्थीले आवेदनको प्रक्रिया, योग्यता तथा भिडियो गाइडलाइनका लागि http://ideastudio.org.np/submit-college-idea-hunt/ मा गएर हेर्न सक्नेछन् ।
प्रतिक्रिया