नबिल बैंकको नाफा ४.९७ अर्ब, प्रतिशेयर आम्दानी रु.२६.८० हुदाँ कति पुग्यो लाभांश क्षमता ?

३ बर्ष अगाडि

काठमाडौं- नबिल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरण आुसार समीक्षा अवधिसम्म बैंकले ४ अर्ब ९७ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ९.८३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ४ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ९ अर्ब १२ करोड रुपैयाँ रहेको छ। नेपाल बंगलादेश बैंकलाई गाभेपछि नबिल बैंकको चुक्तापुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। यो हिसाबले बैंकले ४० प्रतिशतसम्म लाभांश बाँड्ने क्षमता बनाएको छ।

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा पनि १३.९८ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म ६ अर्ब २२ करोड रुपैयाँ रहेको सञ्चालन मुनाफा समीक्षा अवधिसम्म बढेर ७ अर्ब ९ करोड रुपैयाँ भएको छ। 

चौथो त्रैमाससम्म बैंकले ९ अर्ब ४३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ८ अर्ब ७ करोड रुपैयाँमा सीमित थियो। खुद ब्याज आम्दानी १६.७९ प्रतिशतले बढेको छ। 

बैंकले ३ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब १ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले २ खर्ब २३ अर्ब  निक्षेप संकलन गरी १ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो। 

बैंकको रिजर्भको आकार ६८.११ प्रतिशतले बढेर २६ अर्ब ३७ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १५ अर्ब ६९ करोड रुपैयाँमा सीमित थियो।

बैंकको निष्क्रिय कर्जा बढेर १.५४ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल ०.८४ प्रतिशत थियो। सीडी रेसियो ८९.७९ प्रतिशत रहेको बैंकको आधार दर ८.७७ प्रतिशत रहेको छ। 

बैंकको वार्षिकीकरण प्रतिशेयर आम्दानी ३३.५७ रुपैयाँबाट घटेर २६.८० रुपैयाँमा झरेको छ। मूल्य आम्दानी अनुपात ३२.८० गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ २३०.३७ रुपैयाँ रहेको छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया