काठमाडौं - जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ७८ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफा सामान्य बढेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.४० प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६८ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
सञ्चालन मुनाफा उल्लेख्य बढेपनि अघिल्लो आर्थिक वर्षको तुलनामा कम खराब कर्जा उठाएका कारण लघुवित्तको नाफा सामान्य बढ्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १२.५० प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ६.१६ प्रतिशत घटेको छ। लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ११२.९६ प्रतिशत बढेको छ ।
अघिल्लो आर्थिक वर्षमा ६७ करोड १७ लाख रुपैयाँ खराब कर्जा उठाएको यस लघुवित्तले गत आर्थिक वर्षमा ३७ करोड ५८ लाख रुपैयाँ मात्र यस्तो कर्जा उठाएको छ । खुद नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३७ रुपैयाँ ७४ पैसा घटेर ७५ रुपैयाँ ६० पैसामा झरेको छ ।
असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३५.७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २६९ रुपैयाँ ५१ पैसा रहेको छ । १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ५४ करोड २० लाख रुपैयाँ सञ्चित छ ।
समीक्षा अवधिमा लघुवित्त सापटी १.५८ प्रतिशत, निक्षेप १८ प्रतिशत र कर्जा १६.२३ प्रतिशत बढेको छ ।
प्रतिक्रिया