काठमाडौं - मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको असारमसान्तसम्मा १ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको अधिकांश सूचकमा सुधार देखिएको छ । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.४७ प्रतिशत बढी हो ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ८१ करोड ५९ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २१.०८ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी २२.२२ प्रतिशत घटेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी २.२२ प्रतिशत र सञ्चालन मुनाफा १९.५० प्रतिशत बढेको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १८ पैसा बढेर २४ रुपैयाँ २२ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८.१६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ २१ पैसा रहेको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १७.५८ प्रतिशत बढेको छ भने जगेडा कोष २१.०१ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप २०.४३ प्रतिशत र कर्जा १९.१८ प्रतिशत बढेको छ ।
प्रतिक्रिया