कुमारी बैंकको वित्तीय विवरण सार्वजनिक, कति मायो नाफा

३ बर्ष अगाडि

काठमाडौं - कुमारी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिसम्म बैंकले २ अर्ब ८३ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ । 

उक्त नाफा अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ४३.८७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । बैंकको चुक्तापुँजी १४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । यस हिसाबले बैंकले १२ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ । 

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा पनि ३२.६८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष सोही अवधिसम्म ३ अर्ब रुपैयाँ रहेको सञ्चालन मुनाफा समीक्षा अवधिसम्म बढेर ३ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।

चौथो त्रैमाससम्म बैंकले ६ अर्ब ३८ करोड रुपैयाँ बढी खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ५ अर्ब ७ करोड रुपैयाँमा सीमित थियो । खुद ब्याज आम्दानी २७.६७ प्रतिशतले बढेको छ । 

बैंकले १ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष बैंकले १ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३७ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो । 

बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) १४.२० रुपैयाँबाट बढेर १९.२७ रुपैयाँ भएको छ । मूल्य आम्दानी अनुपात (पीई रेसियो) ९.९२ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४४.०१ रुपैयाँ रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया