काठमाडौं - नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा २३ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफा बढेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.७८ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १८ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
सञ्चालन मुनाफा घटेपनि १५ करोड ५८ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएपछि लघुवित्तको नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ८.०३ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ४.३१ प्रतिशत घटेको छ । लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा २६.०७ प्रतिशत घटेको छ ।
६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ७९ करोड १४ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा लघुवित्त सापटी ३३.३० प्रतिशत, निक्षेप २२.५१ प्रतिशत र कर्जा २६.२७ प्रतिशत बढेको छ ।
खुद नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १ रुपैयाँ ९१ पैसा बढेर ३८ रुपैयाँ ८३ पैसा पुगेको छ । असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २२.६६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३१ रुपैयाँ ९१ पैसा रहेको छ ।
प्रतिक्रिया