काठमाडौं - आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ७ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफा घटेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.१५ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ९ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी सामान्य बढेपनि कर्मचारी खर्च र अन्य सञ्चालन खर्च बढेका कारण खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११.३५ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ८.५९ प्रतिशत बढेको छ । लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा २६।७८ प्रतिशत घटेको छ ।
३६ करोड ७१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १४ करोड १३ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा लघुवित्त सापटी १४.५८ प्रतिशत, निक्षेप २८.०५ प्रतिशत र कर्जा १५.६७ प्रतिशत बढेको छ ।
खुद नाफा घटेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ८ रुपैयाँ ६७ पैसा घटेर १९ रुपैयाँ १६ पैसामा झरेको छ । असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४३.०६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ५१ पैसा रहेको छ ।
प्रतिक्रिया