काठमाडौं - प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा ३ अर्ब ६८ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२।६३ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब २६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज घटेपछि बैंकको नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.९२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी २२।२४ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी १.४८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ११.७७ प्रतिशत बढेको छ ।
असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ रहेको छ । नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने सामान्य घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५९ पैसा घटेर १९ रुपैयाँ ७३ पैसामा झरेको छ ।
सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १३.४३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ६९ पैसा रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १६ प्रतिशत बढेको छ भने जगेडा कोष १३.२२ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप ३.९३ प्रतिशत र कर्जा ९.४४ प्रतिशत बढेको छ ।
प्रतिक्रिया