काठमाडौं, महालक्ष्मी विकास बैंक लिमिटेडले १ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ।
बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख इकाइ भएको ऋणपत्र बिक्री गर्ने भएको हो। कुल इकाइमध्ये रु. ६० करोड रकमबराबरको ऋणपत्र व्यक्तिगत तबरबाट र रु. ४० करोडबराबरको ऋणपत्र सर्वसाधारणमा सार्वजनिक निष्कासनबाट बिक्री गरिनेछ।
यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन्।
बैंकले यो ऋणपत्रको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ। काठमाडौको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा आज आयोजित एक समारोहमा ऋणपत्र निष्कासन गर्नका लागि बैंक र एनआईसी एशिया क्यापिटलबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ। आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेपछि बैंकले ऋणपत्र बिक्री गर्नेछ।
प्रतिक्रिया