काठमाडौं - सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्दैछ ।
पार्टी कार्यालय पेरिसडाँडा दिउँसो ३ बजे बस्ने बैठकमा पदाधिकारी चयन र पोलिटब्युरोबारे छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । आजको बैठकमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई अर्थ मन्त्रालयमा फर्काउने कि नफर्काउने भन्नेबारे पनि छलफल हुनेछ ।
संसदीय विशेष छानबिन समितिले बजेटमा करको दर हेरफेरमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको संलग्नता पुष्टि हुन नसकेको प्रतिवेदन बुझाएकाले माओवादीले फेरि शर्मालाई नै अर्थमन्त्रीको रूपमा पठाउने कि अर्को व्यक्तिलाई पठाउने भन्ने निर्णय गर्न सक्ने सम्भावना छ ।
गत शुक्रबार बसेको स्थायी कमिटी बैठकले प्रदेश बैठकका तालिका हेरफेर गरेको थियो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान जाने भएपछि माओवादीका पूर्वनिर्धारित प्रदेश बैठकहरू सारिएको थियो ।
अर्थमन्त्रीबाट राजीनामा दिएको थुप्रै दिन बितिसक्दा पनि शर्माले मन्त्री क्वार्टर छाडेका छैनन् । आरोप गलत भएको निष्कर्षसँगै शर्मा फेरि अर्थ मन्त्रालयमा फर्किने सम्भावना उच्च भएको छ ।
शर्माले राजीनामा दिएसँगै अर्थमन्त्रीको जिम्मेवारी पनि प्रधानमन्त्री शेरबहादुर देउवाले नै अर्थ मन्त्रालय समाल्दै आएका थिए । यत्तिका दिन आफैँले अर्थ मन्त्रालय समालेकाले देउवाको पनि अर्थको जिम्मेवारी शर्मालाई नै दिने मनसाय रहेको बुझिन्छ ।
राजीनामा दिएको २४ दिन हुँदा पनि मन्त्री क्वार्टरसमेत नछोडेका शर्मा आफूलाई लागेको आरोप गलत साबित भई आफू नै अर्थमा फर्किनेमा विश्वस्त रहेको स्रोत बताउँछ ।
प्रतिक्रिया